हङकङस्थित नेपाली समुदायको लामो प्रयासपछि ‘गोरखा फाइनान्स लिमिटेड’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चिम सा शुईस्थित एक विशेष हलमा आयोजित भव्य समारोहमा नबिल बैंक लिमीटेड नेपालका सीईओ मनोज कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा फाइनान्सको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्था धराशायी भएको उदाहरण प्रस्तुत गर्दै लगानीलाई सुरक्षित बनाउन सचेत र योजनाबद्ध रणनीति आवश्यक रहेको सुझाव दिए । उनले हङकङमा नेपाली समुदायको पहलमा स्थापित यो संस्थाले नेपालीहरूमा वित्तीय सचेतना र आत्मविश्वास बढाउने अपेक्षा पनि व्यक्त गरे ।

हङकङमा ‘गोरखा फाइनान्स’को भव्य शुभारम्भ, मकाउमा पनि शाखा विस्तारको तयारी

फाइनानन्स सञ्चालक सदस्य अध्यक्ष डीके दाहालले भविक्ष्यमा बैंक बनाउने लक्ष्यसहित फाइनान्स शुभारम्भ गरिएको बताउदै भने, “हङकङमा नेपालीहरूको आफ्नै वित्तीय संस्था होस् भन्ने हाम्रो सपना थियो। आज त्यो यात्राको पहिलो चरण सफलतापूर्वक सुरु भएको छ।” उनले थपे, “भविष्यको लक्ष्य भनेको बैंक बनाउने उद्देश्यका साथ हामीले यो सुरुवात गरेका छौं। साथै, सकेसम्म चाँडै मकाउमा पनि नयाँ शाखा विस्तार गर्ने तयारी भइसकेको छ।”

कार्यक्रममा हङकङमा विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरु, व्यवसायिक तथा संस्थागत व्यक्तित्वहरू र नेपाली समूदायको उल्लेखनीय सहभागिता रहेको थियो। फाइनान्स डीके दाहाल र आकाश बन्जाराको नेतृत्वमा सञ्चालनमा आएको हो ।

हङकङमा ‘गोरखा फाइनान्स’को भव्य शुभारम्भ, मकाउमा पनि शाखा विस्तारको तयारी

यस अवसरमा उपस्थित अतिथिहरूले संस्थाको सफलताका लागि शुभकामना दिंदै दाहाल र बन्जारालाई बधाई दिएका थिए। नेपाली समुदायले आफ्नो मेहनत र योगदानमार्फत विदेशमा पनि वित्तीय संरचना उभ्याउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै धेरैले प्रशंसा समेत गरे।