काठमाडौं । वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाहरूलाई निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनामा रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको, सम्झौता विपरीत काम गर्न बाध्य पारिएको लगायतका गुनासाहरू आइरहेको भन्दै श्रमिकको हकहित, सुरक्षा र श्रम अधिकार संरक्षणका लागि अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको उल्लेख छ ।
निर्देशनअनुसार म्यानपावर कम्पनीहरूले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूहका श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्नेछ ।
त्यस्तै, प्रत्येक महिनामा हरेक समूह (लट) बाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा अन्य सर्तहरू कार्यान्वयन भए–नभएको जानकारी लिनुपर्ने व्यवस्था गरिएको छ ।
सम्झौता विपरीतको अवस्था भेटिएमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने र सोको विवरण प्रत्येक तीन महिनामा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा उपलब्ध गराउनुपर्नेछ ।
विभागले विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, सम्बन्धित देशको कानुन, सेवा–सुविधा, श्रम अधिकार र गुनासो दर्ता गर्ने प्रक्रियाबारे स्पष्ट जानकारी गराउन समेत निर्देशन दिएको छ ।
विदेशमा रहेका नेपाली श्रमिक कुनै समस्यामा परेमा वा सम्झौता विपरीतको अवस्था आएमा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने र उद्धार आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने विभागले जनाएको छ ।









